चितवन, २१ असार ०८३ — स्कुलमा अध्ययनरत बालबालिकाहरुको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीले विद्यालय परिसरभित्र करिब दुई कट्ठा क्षेत्रफलमा धान रोपाइँ गरेको छ ।
विद्यालयका प्रधानाध्यापक नन्दलाल राईले बाउसे (हिलो सम्याउने र खेत तयार पार्ने काम) गर्दा विद्यालयका शिक्षकहरु र केहि विद्यार्थीहरुले शुक्रबार रोपाईं गरेका हुन् । विद्यालयले विगत केही वर्षदेखि सोही जग्गामा दिवा खाजाका लागि धानबाली एवं तरकारी खेती गर्दै आएको छ ।
विद्यालयका शिक्षिका शोमा पन्तका अनुसार विद्यार्थीलाई श्रम, उत्पादन र कृषिको महत्व व्यवहारमै सिकाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । रोपाइँबाट उत्पादन हुने धान विद्यालयकै विद्यार्थीको दिवा खाजामा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतसिंह तामाङले बताउनुभयो ।

विद्यालयको यस अभ्यासले विद्यार्थीमा व्यवहारिक ज्ञान, श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र कृषिप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालयले करीब डेढ दशकअघिदेखि नै अभिभावकहरूको सहयोगमा विद्यार्थीहरुलाई दिवा खाजाको प्रवन्ध गरिआएको छ ।



