देश-प्रदेश खबर पोष्ट

ठेकदारले काम अलपत्र छाड्दा माडीको बगहीं क्षेत्रमा हुलाकी सडक हिलाम्य (भिडियो सहित)

चितवन, २१ असार ०८३ — सडकको छेउ स्ट्रक्चर निर्माणका लागि भन्दै ठेकदार पक्षले खाडल खनी काम अलपत्र छाड्दा माडी-९ बगहीं क्षेत्रमा हुलाकी सडक हिलाम्य भएको छ । बगहीं खोला पुलदेखि रीउ नदी पुलको बिचको करीब १ किलोमिटर खण्ड आवतजावत नै गर्न असहज हुनेगरी हिलाम्य रहेको हो ।

निर्माण पक्षको निरन्तरको सुस्तताका कारण पछिल्लो आधा दशक (५ बर्षदेखि) माडी- वडाबासीहरुले बर्षायाममा हिलो र अन्य याममा धुलोको सास्ती पाउँदै आएका छन् । सडक हिलाम्य हुँदा पैदलयात्री सहित मोटरसाइकल यात्रीहरु झनै समस्यामा पर्ने गरेका छन् ।

देबेन्द्रपुरको सीमास्थित परुई खोलादेखि बगहीँसम्म करिब ८ दशमलव १५७ किलोमिटर लम्बाइ र ७ मिटर चौडाइको दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जमार्फत (सुरूवाती) ३५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको हो ।

बज्रगुरु ढुकुचु कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको सो सडक निर्माण योजनाको तेस्रो तथा अन्तिमपटक थपिएको म्याद समेत सकिइसकेको छ । तर हालसम्म काम करीब ६० प्रतिशत मात्र पुरा भएको देखिन्छ । स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया