चितवन खबर पोष्ट

चितवनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु

चितवन, २१ असार २०८३ — चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर-२३ का वडा अध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातिदेखि मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धर्ना दिएका थिए।

पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिसहित सरोकारवालाबीच भएको छलफलपछि चारबुँदे सहमति भएको छ।

सहमतिअनुसार जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतक परिवारलाई तत्काल उचित राहत उपलब्ध गराइने, मृतकको घर पुनर्निर्माण गरिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्य तत्काल सुरु गरिने उल्लेख छ । सहमतिपछि स्थानीयको धर्ना कार्यक्रम स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया