कृषि र कृषक पोष्ट

छोराले छाडेको माछा व्यवसाय सम्हाल्दै माडीको बृद्ध दम्पती, बार्षिक २० लाख खुद नाफा

चितवन, २१ असार २०८३ — उमेर बढ्दै जाँदा धेरैले विश्रामको जीवन रोज्छन्। तर चितवनको माडी नगरपालिका-९ अयोध्यापुरीका ६९ वर्षीय कुलप्रसाद भण्डारी र उनकी ६२ वर्षीया पत्नी पिप्ला भण्डारी भने यही उमेरमा कृषि उद्यममार्फत सफलताको नयाँ कथा लेखिरहेका छन्।

दलदले खेतमा धान खेती गर्दै जीवनयापन गर्दै आएका भण्डारी दम्पतीले २०६६ सालदेखि व्यावसायिक माछापालन सुरु गरेका थिए। व्यवसाय विस्तार गर्ने क्रममा उनीहरूले यसको जिम्मेवारी आफ्ना दुई छोरालाई सुम्पिए। छोराहरूले रिसोर्टसहितको व्यवसायिक योजना बनाएपनि बजारमा बिचौलियाको दबाब, अपेक्षाअनुसार आम्दानी हुन नसक्नु र बढ्दो आर्थिक जोखिमका कारण निरन्तरता दिन सकेनन्।

छोराहरू व्यवसायबाट अलगिएपछि पोखरीहरू अलपत्र परे। लाखौँ रुपैयाँको लगानी जोखिममा परेको देखेपछि पिप्ला भण्डारीले हार मानिनन्। उनले जग्गाको लालपुर्जा आफ्नै नाममा गराएर पति कुलप्रसादसँग मिलेर व्यवसायलाई नयाँ ढंगले अघि बढाउने निर्णय गरिन्।

भण्डारी दम्पतीले बिचौलियामार्फत बिक्री गर्ने पुरानो प्रणाली छाडेर सिधै बजार र ग्राहकसम्म पुग्ने रणनीति अपनाए। त्यसपछि व्यवसायले विस्तारै गति लिन थाल्यो। अहिले उनीहरूले करिब ११ बिघा क्षेत्रफलमा फैलिएका १२ वटा पोखरीमा व्यावसायिक माछापालन गरिरहेका छन्।

“माछा हुर्काउनु पनि सन्तान हुर्काउनु जस्तै हो,” पिप्ला भण्डारी भन्छिन्, “माया, समय र मिहिनेत दिए त्यसको प्रतिफल अवश्य पाइन्छ।”

उमेरले विश्राम खोज्ने समयमा पनि भण्डारी दम्पती बिहानदेखि साँझसम्म पोखरीको हेरचाह, दाना व्यवस्थापन, पानीको निगरानी र बजार व्यवस्थापनमा सक्रिय देखिन्छन्। छोराहरूले घाटा बेहोरेर छाडेको माछापालन व्यवसायलाई पुनः उकास्दै उनीहरूले अहिले वार्षिक करिब २० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया