चितवन खबर पोष्ट

ठोरीमा भारतीय चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा रोक, पर्यटन व्यवसाय प्रभावित

चितवन, २१ असार २०८३ — मधेश प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित बनेको छ।

भारतीय सीमा सुरक्षा बल (बीओपी) ठोरीले भन्सार प्रक्रिया पूरा नभएको भन्दै भारतीय सवारीसाधनलाई सीमाबाटै फिर्ता पठाउन थालेपछि दुई दिनमै १७६ वटा पर्यटकीय सवारी नेपाल प्रवेश गर्न नपाएको ठोरी पर्यटन विकास समितिका अध्यक्ष सुदीप थापाले जनाउनुभयो ।

अध्यक्ष थापाका अनुसार दैनिक १०० देखि १५० वटा भारतीय पर्यटकीय सवारी ठोरी हुँदै नेपाल प्रवेश गर्ने गरेका थिए। अहिले पर्यटक सीमाबाटै फर्किन बाध्य हुँदा होटल, रेष्टुरेन्ट, यातायात तथा स्थानीय व्यापारमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो ।

ठोरीमा अमृतछोटी भन्सार कार्यालयको भवन भए पनि लामो समयदेखि नियमित सेवा सञ्चालन नभएकाले भारतीय सवारीसाधनको वैधानिक प्रवेश प्रक्रिया अवरुद्ध भएको स्थानीयको भनाइ छ।

अध्यक्ष थापाले विभिन्न सरकारी निकायसँग कारण बुझ्दा स्पष्ट जवाफ नपाएको समेत बताउनुभयो। स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले भन्सार कार्यालय तत्काल सञ्चालन गरी भारतीय पर्यटकका लागि सहज र कानुनी प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया