खेल र खेलाडी पोष्ट

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वाटरफाइनलमा

चितवन, २२ असार २०८३ — विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

अमेरिकाको न्युयोर्क-न्युजर्सी स्टेडियममा सोमबार राति भएको खेलमा पहिलो हाफमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। त्यसको फाइदा उठाउँदै विश्व फुटबलका चर्चित स्ट्राइकर एर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए।

हालान्डले ७९औँ मिनेटमा हेडमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयमा नेमारले पेनाल्टीमार्फत ब्राजिलका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। विश्वकपको सदाबहार उपाधि दाबेदार ब्राजिल भने यसपटक छैटौँ विश्वकप उपाधि जित्ने सपना अन्तिम १६ मै समाप्त पार्दै घर फर्किएको छ ।

डेब्यु विश्वकप खेलिरहेका हालान्ड जारी प्रतियोगिताका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन्। क्लब फुटबलमा जस्तै राष्ट्रिय टोलीबाट पनि आफ्नो गोल गर्ने लयलाई निरन्तरता दिएका उनले हालसम्म ७ गोल गरेका छन्। गोल्डेन बुटको दौडमा हालान्ड फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा ७ गोलका साथ प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया