चितवन, २२ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्जको कुख्यात ध्रुबे हात्तीले एउटै परिवारमाथि दोस्रो पटक बज्रपात गरेको छ। १४ वर्षअघि माडी द्राैपतिनगरमा पूर्ण बोटेका बाजे सोमला बोटे र बज्यै झरली बोटेको ज्यान लिएको ध्रुबेले शनिबार राति भरतपुर–२३ जगतपुरमा पूर्णकी २४ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरतलाई घरमै आक्रमण गरी मारेको हो।
२०६९ सालमा माडीको द्रौपदीमा भएको आक्रमणपछि परिवार जगतपुर बसाइँ सरेको थियो। तर बसाइँ सरेर पनि ध्रुबेबाट उनीहरू जोगिन सकेनन्। शनिबार राति घर भत्काएर पसेको हात्तीले आमा–छोरामाथि आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भयो। हात्ती धपाउन परालमा आगो लगाउँदा घरसमेत जलेर नष्ट भएको छ।
यसैबीच, ध्रुबे हात्तीको आक्रमणमा बोटे आमाछोराको ज्यान गएपछि नेपाल बोटे समाज केन्द्रीय समितिले गहिरो दुःख व्यक्त गर्दै सरकारसँग तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन सुरक्षा व्यवस्था गर्न माग गरेको छ।

समाजले जारी गरेको प्रेस विज्ञप्तिमा प्रशासनले बस्तीमा पटक–पटक प्रवेश गर्ने हात्ती नियन्त्रणमा देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि जनाउँदै पीडित परिवारलाई तत्काल सहमतिअनुसार राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटना पछि भएका चारबुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना लागू गर्न तथा उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ।



