चितवन, २३ असार २०८३ — माडी नगरपालिका–३, बसन्तपुरस्थित पेट्रोलपम्प नजिक मंगलबार (आज) बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
बिहान करिब ९:२५ बजे बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको ना. ३८ प. १४४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना. ३५ प. ९५९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ना. ३५ प. ९५९५ नम्बरको मोटरसाइकल चालक माडी नगरपालिका–२ निवासी ३५ वर्षीय कुमार परियार घाइते भएका छन्। उनको दुवै खुट्टामा मध्यम प्रकृतिको चोट लागेको छ। बघौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित एलाईभ अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

त्यस्तै ना. ३८ प. १४४८ नम्बरको मोटरसाइकल चालक माडी-४ निवासी ३५ वर्षीय शक्ति मरदनिया शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन्। उनको पनि बघौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि एलाईभ अस्पताल भरतपुर पठाइएको छ।
उक्त मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ३३ वर्षीया सोभा मरदनिया दुवै खुट्टामा चोट लागेर घाइते भएकी छन्। उनलाई पनि थप उपचारका लागि एलाईभ अस्पताल भरतपुर रिफर गरिएको छ।
त्यसैगरी सोही मोटरसाइकलमा सवार ६१ वर्षीया कुमारी महतोको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



