चितवन, २६ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणमा परी ज्यान गुमाएका भरतपुर–२३ का आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको परिवारलाई २१ लाख रूपैंया राहत प्रदान गरेको छ।
निकुञ्जले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँका साथै किरिया खर्चबापत एक लाख रुपैयाँ समेत हस्तान्तरण गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा उक्त राहत रकम मृतकका श्रीमान् पुनु बोटेलाई हस्तान्तरण गर्नुभएको हो ।
यसबाहेक, पीडित परिवारको घर पुनर्निर्माणका लागि आवश्यक काठ, ढुङ्गा र गिट्टीसमेत उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताउनुभयो ।

यसैगरी, भरतपुर महानगरपालिकाले चार लाख रुपैयाँ नगद सहयोगका साथै खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ। यसबाहेक, नेपाल बोटे समाजले ६० हजार रुपैयाँ, नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ, जिल्ला प्रशासन कार्यालय चितवनले १५ हजार रुपैयाँ, केरुङ्गा मध्यवर्ती सामुदायिक वनले ५० हजार रुपैयाँ तथा जिल्ला समन्वय समिति चितवनले २३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
यस्तै, पूर्वमन्त्री विक्रम पाण्डेबाट खाद्यान्न तथा लत्ताकपडा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरले त्रिपाल, कम्मल र भाँडाकुँडा र बेलहट्टा हरियाली युवा क्लबले पीडित परिवारका लागि अस्थायी आश्रयस्थल निर्माण गरिदिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।
यसैबीच, बोट आमाछोरालाई मारेदेखि सम्पर्कविहीन रहेको ध्रुबे हात्ती बिहीबार साँझपख मेघाैली नजिक खोरिया मुहान (अमलटारी नजिकै नारायणी नदी किनार) मा देखापरेको छ । सो हात्तीको अवस्थिति पत्ता लगाइ दाह्रा छोट्याउन र रेडियो कलर जडान गर्न चारवटा प्राविधिक टोली खटिएका छन् ।



