चितवन खबर पोष्ट

वन्यजन्तु आक्रमणबाट अशक्त दुई माडीवासीलाई जनही ५ लाख सहयोग

चितवन, २५ असार २०८३ — बाघ र गैंडाको आक्रमणमा परी पूर्णरुपमा अशक्त भएका माडीका दुईजना पीडितलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनही ५–५ लाख रुपैंया जीविकोपार्जन खर्च सहयोग गरेको छ ।

बाघको आक्रमणमा परी पूर्णरुपमा अशक्त भएका माडी–१, सेरुवा निवासी सुर्य महतो र गैंडाको आक्रमणमा परी पूर्ण अशक्त हुनपुगेका माडी–१, बनकट्टा निवासी मंगले बोटलाई निकुञ्ज प्रशासनले जीविकोपार्जन खर्च उपलब्ध गराएको हो ।

निकुञ्जका मुख्य संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती काउन्सिलका अध्यक्ष शिवजी गायक, निकुञ्जका प्रवक्ता अविनाश थापा, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठक लगायतको टोली बिहीबार पीडितद्वयको घरघरमै पुगी निकुञ्जको पत्र प्रदान गर्दै बैंकिङ विधिबाट सहयोग पठाइएको जानकारी गराएको थियो ।

यसअघि बन्यजन्तु पीडितहरुलाई उपचार खर्च र मृतकहरुलाई दश लाख रुपैंया मात्रै प्रदान गरिआएको निकुञ्जले हालै बन्यजन्तुहरुको आक्रमणबाट अशक्त भएका व्यक्तिहरुलाई जीविकोपार्जनमा सघाउन जनही ५ लाख रुपैंया दिन सुरु गरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया