देश-प्रदेश खबर पोष्ट

काठमाडौंमा एक पुरुषद्वारा आत्मदाहको प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी

चितवन, २७ असार २०८३ — काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शनिबार बिहान करिब ६:१५ बजे ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार प्रहरीले तत्काल उद्धार गरी राउतलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ र उपचार भइरहेको छ।

प्रहरीका अनुसार राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। घटना हुँदा भने श्रीमती र छोरा घरमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।आत्मदाहको प्रयास गर्नुको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। छिमेकीका अनुसार घटना अघिल्लो दिन राउत र उनका छोराबीच केही विषयमा छलफल भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि घरायसी विवादका कारण आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ र थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

तपाईको प्रतिक्रिया