चितवन, २७ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा गरेको गोलसँगै रोमाञ्चक जित दर्ता गर्दै स्पेनले १६ वर्षपछि पुनः विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेनले खेलको ३०औँ मिनेटमा फेबियन रुइजको गोलमार्फत अग्रता बनाएको थियो। तर, बेल्जियमले ४१औँ मिनेटमा चार्ल्स डे केटलेरेले टिमोथी कास्टाग्नेको असिस्टमा हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्यायो ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दुवै टोलीले दोस्रो हाफमा अवसर सिर्जना गरे पनि गोल गर्न संघर्ष गरेका थिए । खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।

यो जितसँगै स्पेन विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ भने बेल्जियमको उपाधि यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ। अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।



