चितवन, २७ असार २०८३ — माडीको ऐतिहासिक एवं धार्मिक पर्यटनस्थल सोमेश्वरगढमा महान योद्धा तथा तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा (मुर्ती) निर्माण भई अनावरण गरिएको छ ।
नेपाल एकीकरणकालीन ऐतिहासिक सैनिक आधारस्थलमा जीर्ण अवस्थामा रहेको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना (श्री नयाँ गोरख गण) को सहकार्यमा मर्मत सम्भार एवं पुनर्निर्माण गरिएको हो ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको अध्यक्षता र उपप्रमुख खेमप्रसाद महतोको स्वागतमा सञ्चालित कार्यक्रम अन्तरगत सेनाको मध्यपृतना उपरथी बिष्णुकुमार खड्काले अभिमानसिंह बस्न्यातको मूर्ति अनावरण गर्नुभएको हो ।

त्यसैगरी मेयर महतोले ढुङ्गेधाराको उद्घाटन गर्नुहुँदा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले झण्डोत्तोलन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ढकालले ऐतिहासिक सोमेश्वरगढीको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।



