चितवन खबर पोष्ट

माडीको ७ आर्थिक वर्षको ९ करोड ४८ लाख रुपैयाँ बेरुजु फर्स्यौंट प्रक्रियामा (भिडियो सहित)

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले कूल बेरुजु रकममध्ये अनियमित रहेका करीब ९ करोड ४८ लाख रुपैंया नियमित गरी फर्स्यौंटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने महत्वपूर्ण निर्णय गरेको छ ।

शनिवार सम्पन्न माडी नगरपालिकाको १८औं नगरसभाको तेश्रो बैठकले आर्थिक बर्ष २०७५/७६ देखि गत आर्थिक बर्ष २०८१/८२ सम्म (२०७४ र २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा) गरी कूल ७ वटा आर्थिक बर्षहरुको बेरुजु सम्परीक्षणका लागि पठाउने विशेष निर्णय गरेको हो ।

https://www.facebook.com/SwadeshFM/Videos/1519573172511784

विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ३६ लाख ७२ हजार, २०७६/७७ मा ३६ लाख ३२ हजार, २०७७/७८ मा ७७ लाख ३ हजार, २०७८/७९ मा २ लाख २८ हजार, २०७९/८० मा १ करोड ४६ लाख ५६ हजार, २०८०/८१ मा ३ करोड १९ लाख ४३ हजार तथा २०८१/८२ मा २९ लाख ५७ हजार रुपैयाँ नियमित गर्न कागजात तयार गरी फर्स्यौंटका लागि पठाउने निर्णय भएको छ ।

माडी नगरपालिकाको कूल अद्यावधिक बेरुजु रकम ४८ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ । सोमध्ये शनिवार निर्णय भएअनुसार ९ करोड ४८ लाख रुपैंयाको बेरुजु फर्स्यौंट भई हटेपनि अद्यावधिक बेरुजु करीब ३९ करोड अझै कायमै रहनेछ । (भिडियो: नगरसभामा विवरण प्रस्तुत गर्दै प्र.प्र.अ. जगत प्रसाद भुसाल )

तपाईको प्रतिक्रिया