चितवन खबर पोष्ट

माडीमा बजार अनुगमन कडा : कसुर गरे ५० हजार जरिवानादेखि व्यवसाय अनुमति रद्दसम्म

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गरेको भेटिए त्यस्ता व्यवसायीलाई ५० हजारसम्म आर्थिक दण्डदेखि व्यवसाय अनुमती पत्र रद्द गर्नेसम्मको कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।

नगरपालिकाको १८औं नगरसभाको तेश्रो बैठकले पारित गरेको बजार अनुगमन सम्बन्धी विधेयक २०८३ ले व्यवसायीहरुलाई आतंकित पार्नेगरी सो कडा दण्डको व्यवस्था गरेको हो ।

बजार अनुगमनका क्रममा व्यवसाय र पान दर्ता नरहेको भेटिए, साइनबोर्ड नराखे, मुल्य सूची नराखे, मुल्य गुणस्तर र तौल ठीक नभए, म्याद नाघेको खाद्यसामग्री भेटिए (दफा १० सम्बन्धी कसुरमा) पहिलोपटक दुई हजारदेखि १० हजार रुपैयाँसम्म, दोस्रो पटक १० हजारदेखि २० हजार रुपैयाँसम्म र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ ।

यस्तै, बजार अनुगमनका क्रममा खानतलासी गर्दा अनुचित वा अनियमित कार्य गरेको पाइए (दफा १९ सम्बन्धी कसुरमा) पहिलो पटक ५ हजारदेखि १० हजार रुपैयाँसम्म, दोस्रो पटक २५ हजार रुपैयाँ जरिवाना र तेस्रो पटक व्यवसाय अनुमति रद्द गरी ५० हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था गरिएको छ ।

नगर उपप्रमुखको संयोजकत्वमा हुने बजार अनुगमनबारे विधेयक पेश र सर्बसम्मत पारित हुँदा नगर उपप्रमुख खेमप्रसाद महतो भने नगरसभाको बैठकमा अनुपस्थित रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया