चितवन, २८ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसपछि लाउटारो मार्टिनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको हेडमार्फत अग्रता लिएको थियो। कप्तान लियोनल मेसीको कर्नरलाई म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गरेका थिए।

स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर. रोड्रिगेजको गोलमार्फत खेल १–१ को बराबरीमा ल्याएको थियो। त्यसपछि बी. इम्बोलाले रातो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।
अतिरिक्त समयमा जुलियन अल्भारेज र त्यसपछि लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए र टोलीलाई सेमिफाइनलमा पुर्याए। अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।



