चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्।
बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे जङ्गली हात्ती ध्रुबेले आक्रमण गरी भत्काउन सुरु गरेको थियो। ध्रुबे हात्ती आएको थाहा पाएसँगै स्थानीयबासीहरूले ट्र्याक्टरसहित निकुञ्ज (जंगलतर्फ) धपाएकाले थप जनधनको क्षति वा हताहती हुनबाट जोगिएको हो।
हालसम्म २५ जनाभन्दा धेरै (र हालैमात्र २ जना) मानिसहरूको ज्यान लिइसकेको ध्रुबे खोजीमा निकुञ्जको प्राविधिक टोली खटिएको छ। टोलीले ध्रुबेलाई ट्र्याक गर्ने प्रयास गरिरहे पनि नियन्त्रणमा लिन सकेको छैन। यस्तोमा गएराति माडीको बनकट्टामा आइपुगेको सो हात्तीका कारण बनकट्टा र माडी क्षेत्रमा त्रास फैलिएको छ।




