चितवन, २८ असार २०८३ — बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलिजुली खाजा घरका संचालक ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई सो आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ असार ११ गते होटल सञ्चालक श्रेष्ठले आफ्नै होटलमा काम गर्ने १७ वर्षिय बालिकालाई कोठामा बोलाई शारीरिक सम्पर्क गरे ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएका थिए।
पीडितले अस्वीकार गर्दा पनि उनले जबरजस्ती गर्ने प्रयास गर्दै शरीरका संवेदनशील अंग छोएको आरोप छ। प्रहरीका अनुसार घटनापछि श्रेष्ठले प्रयोग गर्ने ह्वाटएप र स्टाग्राम मार्फत बालिकालाई अश्लील शब्द लेखी सन्देश तथा अश्लील भिडियोहरू समेत पठाउने गरेका थिए।

घटनाको जानकारी इलाका प्रहरी कार्यालय खैरहनीमा प्राप्त भएपछि असार २७ गते खटिएको प्रहरी टोलीले होटल संचालक श्रेष्ठलाई पक्राउ गरेको हो। उनीमाथि बालबालिकाविरुद्धको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



