चितवन, २९ असार २०८३ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको आकस्मिक बाढीले सोमबार बिहान एउटा ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सकुशल बाहिर निस्किएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योगमा ढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक खोला पार गर्ने क्रममा बाढीमा परेको हो। ह्युम पाइप राखेर बनाइएको अस्थायी बाटो (लच्का) पार गर्ने क्रममा एक्कासि पानीको बहाव बढेपछि ट्रक बगिएको प्रहरीले जनाएको छ।
बाढीमा परेका ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ पौडिएर सुरक्षित बाहिर निस्किएका हुन्। उनको खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ।




