खेल र खेलाडी पोष्ट

फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा

चितवन, ३१ असार २०८३ — फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे।

खेलको २२औँ मिनेटमा लामिन यामालमाथि फ्रान्सका लुकास डिनले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई ओयार्जाबालले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफमा स्पेनले आफ्नो दबाब कायम राख्यो। ५८औँ मिनेटमा डानी ओल्मोसँगको उत्कृष्ट तालमेलपछि पेड्रो पोरोले शानदार गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।

त्यसपछि फ्रान्सले केलियन एम्बाप्पेको नेतृत्वमा पुनरागमन गर्ने प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन। जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरिह बन्न पुग्यो ।

सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो । अब स्पेनले उपाधिका लागि इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया