चितवन, ३१ असार २०८३ — बसन्तपुर युनाइटेड क्लबसँग आबद्ध युवाहरूले बसन्तपुर बजारको शहीदचोक क्षेत्र वरपर रहेका सार्वजनिक सम्पदामा सरसफाई अभियान सञ्चालन गरेका छन्।
अभियानअन्तर्गत युवाहरूले शहीदचोकस्थित शहीद स्तम्भ, वडा नं. ३ कार्यालय परिसर तथा शिवालय मन्दिर परिसरमा उम्रिएका झारपात हटाउनुका साथै त्यहाँ थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरेका हुन्। स्थानीयस्तरमा स्वच्छता कायम राख्ने उद्देश्यले गरिएको उक्त सरसफाई कार्यक्रममा क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
मुख्यतः फुटबल खेलको विकास र प्रवर्द्धनमा सक्रिय रहँदै आएको बसन्तपुर युनाइटेड क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले नियमित रूपमा रक्तदान कार्यक्रम, सरसफाई अभियान, विपन्न परिवारलाई राहत वितरण लगायतका सामाजिक कार्यहरू गर्दै आएको बताइएको छ।




