चितवन, ३२ असार २०८३ — माडीको व्यावसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारको सरसफाइ, बजार व्यवस्थापन तथा पार्किङ व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएको बसन्तपुर बजार टोल विकास संस्था सम्मानित भएको छ।
माडी नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रमको अवसरमा उक्त संस्थालाई नगद रु. ५,००० र कदरपत्रसहित सम्मान गरेको हो। नगरप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेल तथा नगरका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा संस्थाका अध्यक्ष यमकुमार विश्वकर्मालाई सम्मान प्रदान गर्नुभएको थियो।
विगतमा दुईवटा छुट्टाछुट्टै टोल विकास संस्थामार्फत सञ्चालन हुँदै आएको बसन्तपुर बजार हालै एकीकृत भई एउटै टोल विकास संस्थाअन्तर्गत सञ्चालन भइरहेको छ। संस्थाले बजारको सरसफाइ, पार्किङ व्यवस्थापन, बजारको समग्र व्यवस्थापन तथा सार्वजनिक सरोकारका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।




