चितवन, ३२ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्जले लगातार मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउँदै आएको कुख्यात जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर जीपीएस प्रविधिमा आधारित स्याटेलाइट कलर जडान गर्नुका साथै यसको दाह्रा काटेर पुनः जंगलमै छाडेको छ।
निकुञ्ज कार्यालयले मध्यरात जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति, वडा कार्यालय तथा स्थानीय सरोकारवालाबीच समन्वय गरेर उक्त हात्तीको निरन्तर खोजी तथा निगरानी गरिएको थियो।
निकुञ्जका अनुसार वर्षायामको प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन कठिनाइ भए पनि असार ३१ गते साँझ करिब १०:३० बजे निकुञ्जभित्र सुखीभार पोष्ट नजिकै ध्रुवेलाई बेहोस बनाइ नियन्त्रणमा लिइएको थियो।

त्यसपछि हात्तीलाई स्याटेलाइटमा आधारित जीपीएस कलर जडान गरिएको र भविष्यमा मानवमाथिको जोखिम कम गर्ने उद्देश्यले यसको दाह्रा पनि काटिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जीपीएस कलर जडान भएपछि हात्तीको अवस्थिति छोटो समयमै पत्ता लगाउन सकिने, नियमित निगरानी गर्न सहज हुने तथा समयमै सूचना प्रवाह गरी मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



