चितवन, ०१ श्रावण २०८३ — व्यावसायिक माछापालनमार्फत उच्च उत्पादन हासिल गर्दै मत्स्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै माडी–७ गोपालनगर निवासी मत्स्यपालक कृषक दामोदर गौतम सम्मानित हुनुभएको छ।
विहीबार साँझ नगरसभाको सभाहलमा सम्पन्न आ.व. २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले गौतमलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभयो।
गौतमको परिवारले वि.सं. २०४६ सालदेखि निरन्तर व्यावसायिक माछापालन गर्दै आएको छ। हाल उहाँले ७ वटा उत्पादन पोखरी र ४ वटा नर्सरी पोखरी सञ्चालन गर्दै एक आर्थिक वर्षमा करिब १८० क्विन्टल माछा उत्पादन गर्दै आउनुभएको छ।

प्रति इकाइ क्षेत्रफलमा उच्च उत्पादन हासिल गर्न सफल गौतमले सबै खर्च कटाएर पनि मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी बचत गर्दै आउनुभएको छ। व्यावसायिक मत्स्यपालनको सफल अभ्यास र उत्पादन वृद्धिमा पुर्याएको योगदानको कदर गर्दै माडी नगरपालिकाले उहाँलाई सम्मान गरेको जनाएको हो।



