चितवन, ०१ श्रावण २०८३ — व्यावसायिक तरकारी खेतीमार्फत स्थानीय कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका माडी-८ दक्षिण अयोध्यापुरीका युवा कृषक राजन आले मगर सम्मानित हुनुभएको छ।
विहीबार साँझ नगरसभाको सभाहलमा सम्पन्न आ.व. २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले मगरलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभयो।
करीब तीन वर्षअघि धादिङबाट बसाइँ सरी माडी आउनुभएका मगरले सानो क्षेत्रफलबाट सुरु गर्नुभएको तरकारी खेतीलाई विस्तार गर्दै हाल करिब ३५ कठ्ठा क्षेत्रफलमा लौका, करेला, मेवा र खुर्सानीको व्यावसायिक खेती गर्दै आउनुभएको छ।

अयोध्या युवा कृषक समूह गठन गरी स्थानीय युवाहरूलाई व्यावसायिक कृषि पेशामा जाेड्ने पहल समेत गर्नुभएका उहाँको कृषि व्यवसाय प्रवर्द्धनका लागि माडी नगरपालिकाको कृषि शाखाले विभिन्न अनुदान तथा प्राविधिक सहयोग प्रदान गरिआएको छ ।
— — —



