चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले मानव बेचबिखन रोकथाम तथा अन्य सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै गैरसरकारी संस्थामध्ये आफन्त नेपाललाई सम्मान गरेको छ।
वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा शिक्षक, विद्यार्थी, कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने क्रममा नगरपालिकाले आफन्त नेपालका माडी प्रमुख सपना श्रेष्ठलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गर्दै सम्मान गरेको हो।
आफन्त नेपाल मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध क्रियाशील एक गैरसरकारी संस्था हो। वि.सं. २०६४ मा स्थापित यस संस्थाले माडीको बगहींसहित नेपाल–भारत सीमाका विभिन्न नाकाहरूमा निगरानी केन्द्र सञ्चालन गरी जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, कानुनी सहयोग र पारिवारिक पुनर्मिलनका लागि काम गर्दै आएको छ ।




