चितवन, ०१ श्रावण २०८३ — सामुदायिक मेलमिलाप तथा न्यायिक निरूपणको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै माडी नगरपालिकाले मेलमिलाप नगर समिति संयोजक महदत्त काफ्लेलाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले काफ्लेलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गर्दै सम्मान गरेको हो।
पूर्व बैंकर (तात्कालीन निर्धन उत्थान बैंक लिमिटेडका प्रबन्धक) तथा शिक्षाविद् समेत रहेका काफ्लेको संयोजनमा नगरपालिकामा दर्ता भएका १४७ वटा विवादमध्ये १३ वटा बाहेक सबै मुद्दा मेलमिलापमार्फत समाधान भएका छन्।
नगरपालिकाले समुदायस्तरमै विवाद समाधानको न्यायिक प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउन काफ्लेले पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरेको जनाएको छ। सामुदायिक मेलमिलाप केन्द्र समुदायमा हुने सानातिना झैझगडा र विवादहरूलाई अदालत जानु नपर्ने गरी मेलमिलापकर्ताको सहयोगमा आपसी सहमतिमा समाधान गर्ने केन्द्र हो।




