अपराध खबर पोष्ट

चितवनमा एक वर्षमा ३८१ घरेलु हिंसाका उजुरी, ८९ जना अझै बेपत्ता

चितवन, १८ श्रावण २०८३ — चितवन जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये ३०५ वटा मिलापत्र भएका छन् भने ७१ वटा मुद्दा अदालतमा दर्ता गरिएको छ।

पाँच वटा निवेदन अझै छलफलकै क्रममा रहेको प्रहरीको तथ्याङ्क छ। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५४२ घरेलु हिंसाका निवेदन परेका थिए। तीमध्ये ४६९ वटा मिलापत्र भएका थिए भने ७३ वटा अदालत पुगेका थिए।

यसैगरी, चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ८९ जना सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बेपत्ताको खोजीका लागि ७६४ जनाको निवेदन परेको थियो। तीमध्ये ६७५ जनालाई विभिन्न स्थानबाट फेला पारेर परिवारको जिम्मा लगाइएको छ भने ८९ जनाको खोजतलास अझै जारी छ।

प्रहरीका अनुसार कतिपय व्यक्ति नारायणी नदीमा हाम फालेर बेपत्ता हुने, तर त्यसबारे समयमै जानकारी नपुग्दा उनीहरू हराएको सूचीमा पर्ने गरेका छन्। त्यसैगरी, घर फर्किएपछि प्रहरीलाई जानकारी नगराउने, सुरुमा उपलब्ध गराइएको सम्पर्क नम्बर परिवर्तन हुने वा सम्पर्कविहीन हुने कारणले पनि बेपत्ताको सूची लामो देखिने प्रहरीको भनाइ छ। प्रहरीको तथ्यांक अनुसार विगत तीन आर्थिक वर्षदेखि बेपत्ता हुने व्यक्तिको सङ्ख्या बढ्दो क्रममा छ।

तपाईको प्रतिक्रिया