चितवन खबर पोष्ट

मुना सडकमा ढुंगा–माटो खसिरहेकै, सवारी आवागमन प्रभावित

चितवन, १८ श्रावण २०८३ — लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ (मुना) सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार रातिदेखि सडकका विभिन्न स्थानमा ढुंगा-माटो खस्नुका साथै रुख ढलेको सडक सञ्चालनमा अवरोध भएको हो । सडक पूर्णरूपमा अवरुद्ध नभए पनि निरन्तर वर्षाका कारण बेलाबेलामा ढुंगा-माटो खस्ने क्रम जारी रहेकाले सवारी आवागमन प्रभावित भइरहेको छ।

साेमबार बिहान तुइन खोला, सिमलताल तथा फिस्लिङ क्षेत्रमा पनि ढुंगा खस्नुका साथै रुख ढलेपछि यातायातमा केही अवरोध भएको थियो। ती स्थानमा मेसिन परिचालन गरी सडक सफा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

जहाँ पहिरो वा ढुंगा खस्ने घटना हुन्छ, त्यहाँ तत्काल सफाइ गरेर सवारी सञ्चालनलाई निरन्तरता दिइएको छ। लगातारको वर्षाका कारण सडक यात्रा जोखिमपूर्ण बनेकाले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परेमा उच्च सतर्कता अपनाउन प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया