चितवन, १८ श्रावण २०८३ — शिक्षक छनोटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबीन समिति गठन लगायतका ३ बुँदे सहमती भएसंगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द (तालाबन्दी) खुलेको छ ।
सोमबार माडी नगरपालिका र थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडीको वार्ता टोलीबीच ३ बुँदे सहमती भएको हो । दुबै पक्षबीच छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म कार्यालयको दैनिक प्रशासनिक कामकाज निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट सञ्चालन गर्ने सहमती भएको छ ।
त्यस्तै, छानबिन समितिको प्रतिवेदनबाट दोषी देखिएको दोषी उपर नियम अनुसार कारबाहीको लागि नगरपालिकाको प्रक्रिया अगाडि बढाउने र तत्कालका लागि तालाबन्दी खुला गर्ने सहमती भएको नगर उपप्रमुख खेमप्रसाद महतोले जनाउनुभयो ।

बैठकले नगर उपप्रमुख महतोको संयोजकत्वमा शिक्षक महासंघका प्रतिनिधि चन्द्रमणि महतो, शिक्षा विकास तथा समन्वय इकाई चितवनका शाखा अधिकृत रमेश अधिकारी, थारु कल्याणकारिणीको तर्फबाट रामचन्द्र महतो र नगरपालिका प्रवक्ता डण्डपानी पौडेल सदस्य रहेको ५ सदस्यीय छानबीन कार्यदल गठन गरेको छ ।
कार्यदललाई छानबीन गरी प्रतिवेदन पेश गर्न ५ दिने समयसीमा दिइएको छ । यसअघि, माडी नगरपालिका-९ हनुमानझुलास्थित भालुखोला आधारभूत विद्यालयमा शिक्षक छनोटको परीक्षामा शिक्षक छनौट परीक्षामा अनियमितताको आरोप लगाउँदै थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडीले सो तालाबन्दी गरेको थियो ।



