चितवन, २० श्रावण २०८३ — नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले ‘हरित अभियान : समृद्ध किसान, फलफूल रोपौँ, आत्मनिर्भर बनौँ’ कार्यक्रमअन्तर्गत ९३ जना सदस्यलाई फलफूलका बिरुवा वितरण गरेको छ।
धनमाया अधिकारीको अध्यक्षता तथा माडी–३ का वडा अध्यक्ष पुरनप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष महतोले गरिब तथा विपन्न परिवारलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आएको संस्थाको प्रशंसा गर्दै सेवाको थप विस्तारको शुभकामना व्यक्त गर्नुभयो।
शाखा प्रबन्धक धुर्व पौडेलले गत वर्ष ४१५ घरपरिवारलाई तरकारीको बीउबिजन वितरण गरिएको स्मरण गराउँदै यस वर्ष आँप, लिची, एभोकाडो, कागती र अम्बाका उन्नत जातका बिरुवा वितरण गरिएको जानकारी दिनुभयो। उहाँले बिरुवाको संरक्षण गर्दै आम्दानी वृद्धि र आत्मनिर्भरतातर्फ उपयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा समाजसेवी भागीरथ बस्यालले रक्तदान र स्वास्थ्य सचेतनाको महत्वबारे प्रकाश पार्नुभएको थियो। ३० वटा केन्द्रका ९३ जना सदस्यसहित १०३ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन केन्द्र प्रबन्धक चन्द्रबहादुर गुरुङले गर्नुभएको थियो ।



