चितवन, २० श्रावण २०८३ — नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा आयोजित छलफलका क्रममा चर्को आलोचनाको सामना गर्नुपरेको छ।
बागमती प्रदेश सरकार गठनको विषयमा छलफल गर्न अध्यक्ष ओलीले बागमती प्रदेशका एमाले सांसदहरूलाई सोमबार साँझ गुण्डु बोलाएका थिए। छलफलका क्रममा सांसदहरूले थपलियामाथि सरकार गठन गर्न नसकेको, संसदीय दल प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको तथा जनतामाझ लोकप्रिय बन्न नसकेको आरोप लगाएका थिए।
छलफलमा सहभागी स्रोतका अनुसार अध्यक्ष ओलीले पनि थपलियाप्रति असन्तुष्टि व्यक्त गर्दै कडा रूपमा प्रश्न उठाएका थिए। त्यसपछि आफू अपमानित भएको महसुस गर्दै थपलियाले ओली र सांसदहरूको आरोपको प्रतिवाद गरेका थिए। त्यसक्रममा, सुगर र प्रेसरका बिरामी समेत रहेका थपलिया ढल्न पुगेको बताइएको छ ।

छलफलमा सहभागी एक प्रदेश सांसदका अनुसार बैठकको वातावरण निकै तनावपूर्ण बनेको थियो। उनका अनुसार लामो समयदेखि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थपलियाप्रति गरिएको व्यवहारले पार्टीभित्र निराशा बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।



