चितवन, २० श्रावण २०८३ — माडीको ब्रह्मपुरी र लक्ष्मुनियाँमा नवनिर्मित २ वटा पुल उद्घाटन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रदेश मन्त्रीका रुपमा कार्यकालको उत्तरार्धमा चितवनकै काँग्रेस नेतृ समेत रहनुभएकी रायमाझी पौडेलले माडी आई दुईवटा पुल उद्घाटन गर्नुभएको थियो ।
माडी–५ ब्रह्मपुरीमा शक्ति शिव आरएन सफल जेभीले ठेक्का पाई निर्माण सम्पन्न गरेको रौतनी खोला पुल र माडी–१, लक्ष्मुनियाँमा सौरभ निर्माण सेवाले निर्माण सम्पन्न गरेको डाङ्ग्रे खोला पुलको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यकाल सकिन लागेको मन्त्रीले समुद्घाटन गर्न लागेको भन्दै विवाद समेत भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल, प्रदेश सरकारका भौतिक पूर्वाधार सचिव, पूर्वाधार विकास कार्यालयका कर्मचारी, माडी नगरप्रमुख एवं सम्बन्धित वडाका वडाध्यक्षहरु सहभागी रहेका थिए ।

यसैबीच, उहाँले राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजन गर्नुभएको छ । पुनर्गठन अन्तर्गत हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ ।
त्यस्तै शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।



