चितवन, २० श्रावण २०८३ — दाह्रा काटिएर निकुञ्जको १० १० मिनेटको अनुगमनमा रहेको भनिएको ध्रुबे हात्तीको बितण्डा अझै रोकिएको छैन । सो हात्तीले हालै माडी नगरपालिका–१ अमिलियामा राति करिब ३ बजे ब्लकले बनेको एक घरमा क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार हात्तीले घर भत्काएर नुनको बोरा लगेको, माछा तथा गाईवस्तुको दाना पोखिदिएको र घरभित्र रहेका सामग्री छरपस्ट बनाएको छ। हात्ती आएको समय स्थानीयबासी मचानमा बसेकाले घटनामा मानवीय क्षति भने भएको छैन।
ध्रुवे हात्ती यसअघि पनि माडी क्षेत्रका बस्तीमा पटक–पटक पसेर जनधनको क्षति पुर्याउँदै आएको थियो। गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्जले ध्रुवेलाई नियन्त्रणमा लिएर दुवै दाह्रा काट्नुका साथै नयाँ रेडियो कलर जडान गरेको थियो। त्यसपछि केही समय निकुञ्जभित्रै सीमित रहेको ध्रुवे फेरि बस्तीमा पसेर उपद्रो मच्चाएको हो।

निकुञ्ज प्रशासनले रेडियो कलरमार्फत ध्रुवेको गतिविधिको निरन्तर निगरानी गर्दै आएको जनाएको छ। हात्ती बस्ती नजिक देखिएमा मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीयलाई सूचना प्रवाह गरी सुरक्षाकर्मीको सहयोगमा निकुञ्जतर्फ फर्काउने व्यवस्था गरिएको निकुञ्जको भनाइ छ।
— — —



