चितवन, २६ श्रावण २०८३ — ग्यास अभाव र उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोलका आधारमा क्लस्टर प्रणालीमार्फत ग्यास वितरण गर्ने व्यवस्था गरेको छ।
साउन २४ गते ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि पश्चिम चितवन, माडी र भरतपुरका विभिन्न वडालाई छुट्टाछुट्टै क्लस्टरमा विभाजन गरी फरक–फरक दिन ग्यास वितरण गर्ने कार्यतालिका बनाइएको हो। पूर्वी चितवनमा भने साविककै व्यवस्था कायम रहनेछ।
यसैबीच, प्रशासनले पछिल्लो एक सातामा ग्यास अभावको गुनासो गरेका ८०२ घरधुरीमा सिलिण्डर पुर्याउन सहजीकरण गरेको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।

उद्योगबाट पर्याप्त ग्यास आए पनि उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था देखिएपछि प्रशासनले ग्यास उद्योगदेखि डिपो र खुद्रा व्यापारीसम्म अनुगमन सुरु गरेको छ। त्यस्तै, ग्यास वितरणसम्बन्धी गुनासो व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।
ग्याससम्बन्धी सूचना, सुझाव वा गुनासोका लागि सहायक प्रजिअ चूडामणि शर्मा गौतम ९८५५०८१७६८, प्रशासकीय अधिकृत मदन लामा थिङ ९८५५९२२०० र प्रहरी नायब निरीक्षक यामप्रसाद सापकोटा ९८४४०२९०४३ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।



