चितवन, २६ श्रावण २०८३ — भरतपुर-माडी जोड्ने हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढाइएको छ। इआइएको प्रारम्भिक प्रक्रियाअन्तर्गत निकुञ्ज क्षेत्रभित्र सडकको दायाँ-बायाँ १५-१५ मिटर क्षेत्रफलमा पर्ने रुखको छपान तथा नम्बरिङको काम सम्पन्न भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार उक्त क्षेत्रमा १ हजार ९९६ वटा रुख गणना गरिएको छ। उनका अनुसार हाल रुखको नम्बरिङ र गणना मात्रै गरिएको हो। इआइए प्रतिवेदनमा रुख कटान आवश्यक देखिएमा त्यसका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्नेछ।
“अहिले नम्बरिङ मात्रै गर्ने काम भएको हो। इआइए बनेर ती रुख काट्नुपर्ने भएमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्नेछ,” सूचना अधिकारी थापा मगरले भने। लामो समयदेखि जीर्ण सडकका कारण माडीवासीले सास्ती भोग्दै आएको भरतपुर-माडी सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेसँगै स्थानीयमा सडक सुधार हुने आशा पलाएको छ।

चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि कानुनमन्त्री बनेकी गौतमले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र वनमन्त्री गीता चौधरीलाई स्थलगत अवलोकन गराउँदै सडक स्तरोन्नतिको काम अघि बढाउन पहल गरेकी थिइन्। गौतमले बजेट तथा कानुनी प्रक्रियाका कारण आयोजना रोक्न नहुने बताउँदै आएकी थिइन्। स्थलगत अवलोकनपछि सम्बन्धित मन्त्रीहरूले पनि इआइएको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए।
आयोजनाका परामर्शदाता प्रतिनिधिका अनुसार हुलाकी राजमार्ग निर्देशनालयको मातहतमा तथा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको समन्वय र प्राविधिक सहयोगमा निकुञ्जभित्र सडक विस्तार तथा स्तरोन्नतिका क्रममा प्रभावित हुनसक्ने रुखको पहिचान र गणना गरिएको हो।
रुख गणनाको काम सम्पन्न भएसँगै परामर्शदाता कम्पनीले वातावरण व्यवस्थापन योजनासहितको इआइए मस्यौदा प्रतिवेदन तयार गर्नेछ। प्रतिवेदनलाई अन्तिम रूप दिनुअघि भदौको पहिलो वा दोस्रो साताभित्र निकुञ्ज प्रतिनिधि, स्थानीय तह तथा अन्य सरोकारवालाको सहभागितामा सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएको छ।
सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव तथा सडक स्तरोन्नतिका क्रममा वातावरणमा पर्नसक्ने प्रभाव न्यूनीकरणका उपायलाई इआइए प्रतिवेदनमा समावेश गरिनेछ। परामर्शदाता पक्षका अनुसार आगामी दशैंअघि नै इआइए प्रतिवेदन बुझाउने लक्ष्य राखिएको छ। वन नियमावलीअनुसार निकुञ्ज तथा वन कार्यालयबाट प्रमाणित भएर आएको रुख क्षतिको विवरणलाई अन्तिम इआइए प्रतिवेदनमा समावेश गरिनेछ।
हुलाकी राजमार्गअन्तर्गत भरतपुर-माडी सडकको निकुञ्ज क्षेत्र स्तरोन्नति भएपछि वर्षायाममा हुने आवतजावतको समस्या कम हुनुका साथै माडीवासीको लामो समयदेखिको सडक सुधारको माग सम्बोधन हुने अपेक्षा गरिएको छ।



