चितवन, २८ श्रावण २०८३ — आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल बिनाशर्त रिहा गर्न माग गरेको छ।
नेपाल पत्रकार महासंघले श्रेष्ठको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई बिनाशर्त रिहा गर्न माग गरेको हो। समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले गम्भीर विषय भएको महासंघको भनाइ छ।
पत्रकार महासंघले पत्रकारले प्रकाशित गरेको समाचार वा सम्पादकीय विषयमा चित्त नबुझे कानुनी प्रक्रियाअनुसार समाधान खोजिनुपर्नेमा पक्राउ नै गर्ने कार्यले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको जनाएको छ।

पत्रकार तथा सञ्चारकर्मीहरूले समेत श्रेष्ठको पक्राउको विरोध गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र उनलाई तत्काल बिनाशर्त रिहा गर्न माग गरेका छन्। श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्तीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।



