चितवन खबर पोष्ट

चितवनमा डेंगु र स्क्रब टाइफसको जोखिम बढ्यो, ३८ संक्रमित

चितवन, २८ श्रावण २०८३ — चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ देखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका गरी ३४ जनामा स्क्रब टाइफस र ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

कार्यालयका अनुसार २११ जनाको स्क्रब टाइफस परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो। यस्तै, १७८ जनाको डेंगु परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाभित्र भरतपुर महानगरपालिकामा ५ जना र रत्ननगरमा १ जनामा स्क्रब टाइफस देखिएको छ। डेंगुतर्फ कालिकामा १ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको छ। खैरहनी, माडी र राप्तीमा भने हालसम्म दुवै रोगका संक्रमित भेटिएका छैनन्।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका २८ जनामा स्क्रब टाइफस र २ जनामा डेंगु पुष्टि भएको कार्यालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै डेंगुका २ र स्क्रब टाइफसका २ नयाँ संक्रमित थपिएका छन्।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार अहिले डेंगु र स्क्रब टाइफस संक्रमण फैलिने मौसम हो। कार्यालयले पानी जम्न नदिन, वरपरको वातावरण सफा राख्न तथा लामखुट्टे र माइटको टोकाइबाट बच्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया