चितवन, २८ श्रावण २०८३ — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका छन्। गत फागुन १३ गते श्रीमती आरजु राणासहित स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको हो।
स्वदेश फर्किएपछि जारी वक्तव्यमा देउवाले राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। उनले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ बनाउन फर्किएको बताएका छन्।
वि.सं. २०३३ मा बीपी कोइराला राष्ट्रिय एकताको आह्वान गर्दै नेपाल फर्किएको प्रसंग स्मरण गर्दै देउवाले वर्तमान अवस्थामा पनि सर्वपक्षीय सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका छन्। देउवाको स्वदेश फिर्तीसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि थप सक्रिय बनेको छ।




