चितवन खबर पोष्ट

नगरस्तरीय वक्तृत्वकलामा जनकल्याणकी प्रमिशा पौडेल प्रथम

चितवन, २८ श्रावण २०८३ — सोमेश्वर माध्यमिक विद्यालयमा आज नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी प्रमिशा पौडेल प्रथम हुनुभएको छ ।

त्यस्तै, दिवाकर स्मृति माध्यमिक विद्यालयकी प्रिया गुरुङ द्वितीय, माडी माध्यमिक विद्यालयका सुरज सुनार तृतीय तथा सोमेश्वर माध्यमिक विद्यालयकी प्राप्ती सुवेदी सान्त्वना (चाैथो) हुनुभएको छ।

‘अनुशासित र नैतिकवान युवा समृद्ध समाज निर्माणका आधार’ विषयमा आयोजित प्रतियोगितामा माडी नगरपालिकाका कक्षा ६ देखि माथि अध्यापन हुने विभिन्न विद्यालयका १८ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

विद्यालयका विद्यार्थीको आयोजनामा सम्पन्न प्रतियोगिता कक्षा १२ की छात्रा तेजकुमारी महतोको अध्यक्षता तथा नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक तथा उल्लेख्य संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विजेता विद्यार्थीहरूलाई क्रमशः रु. ३ हजार, रु. २ हजार, रु. १ हजार र रु. ५ सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले एनसीसीको मार्चपास तथा स्काउटको सलामी प्रस्तुत गरेका थिए। साथै विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो।

तपाईको प्रतिक्रिया