चितवन, २८ श्रावण २०८३ — चितवन फाइटर्स अन्तर्गत माडीमा सञ्चालन हुँदै आएको तेक्वान्दो प्रशिक्षणको ग्रेडिङ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीस्वरूप सञ्चालन गरिएको प्रशिक्षणअन्तर्गत भएको ग्रेडिङमा ३४ जना खेलाडी सहभागी भएका थिए।
ग्रेडिङमा सहभागी ३४ खेलाडीमध्ये १५ जना खेलाडीले डबल प्रमोसन हासिल गरेका छन् भने बाँकी खेलाडीहरूले सिंगल प्रमोसन प्राप्त गरेका छन्। ग्रेडिङमा खेलाडीहरूले आफ्नो प्रशिक्षण, अनुशासन, प्रविधिगत दक्षता तथा तेक्वान्दोको स्तरअनुसार प्रदर्शन गरेका थिए।
बसन्तपुर युथ क्लबका अध्यक्ष पदम विलास पन्तको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण तथा ग्रेडिङ कार्यक्रममा चितवन जिल्ला तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक बादल गुरुङको प्राविधिक सहयोग रहेको थियो।

चितवन फाइटर्सका ३ डान प्रशिक्षक सागर परियारको नेतृत्वमा सञ्चालन भइरहेको प्रशिक्षणले खेलाडीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्दै आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ।



