कृषि र कृषक पोष्ट

भदौ १ देखि माडीको बसन्तपुरमा ‘गंगा’ डेरी मार्ट सञ्चालन हुँदै

चितवन, २९ श्रावण २०८३ — चितवनको पश्चिम क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादन तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ १ गतेदेखि माडीको बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याउने भएको छ। डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दूध संकलन गर्ने तयारीसमेत गरिएको छ।

वि.सं. २०४९ सालमा स्थापना भएको सो सहकारीले किसानबाट दूध संकलन गरी ‘गंगा’ ब्रान्डका विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल ५ सयभन्दा बढी किसान आबद्ध छन्।

सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक ६ हजार लिटरभन्दा बढी दूध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दूधको उचित मूल्य उपलब्ध गराउने उद्देश्यसहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमुना पशुपालन फार्म र स्रोत केन्द्रसमेत रहेको छ।

संकलित दूधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दूध, दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायत विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार उत्पादित ‘गंगा’ ब्रान्डका वस्तुहरू चितवनसहित नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोरखा, धादिङ र काठमाडौंका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्।

सन्तपुरमा डेरी मार्ट सञ्चालनमा आएपछि माडीका उपभोक्ताले ‘गंगा’ ब्रान्डका दूध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन् । त्यसैगरी, माडीका किसानबाट दूध संकलन सुरु भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दूधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया