चितवन, ३० श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले माडी-ठोरी हुलाकी सडक अन्तरगत बगहीँदेखि अमुवाखोलासम्म सडकको दुवैतर्फ रहेका झाडी फँडानी सुरू गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जको आफ्नै पहल तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको समन्वयमा सडक छेउका झाडी फँडानी गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले जानकारी दिनुभयो।
अग्ला तथा बाक्ला झाडीका कारण सडक छेउमा वन्यजन्तुको आवतजावत र सर्वसाधारणको आवागमनमा समेत समस्या हुने भएकाले मानव तथा वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर झाडी फँडानी अभियान सञ्चालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुनले बताउनुभयो।

झाडी बाक्लो हुँदा सडकमा आवतजावत गर्ने सर्वसाधारणले वन्यजन्तुको गतिविधि सहजै देख्न नसक्ने र मानिस तथा वन्यजन्तुबीचको जोखिम बढ्न सक्ने भएकाले सडक छेउ सफा गरिएको उहाँले बताउनुभयो। यसअघि सडक डिभिजन कार्यालयले कसरादेखि माडीसम्मको सडकको दुवैतर्फ रहेका झाडीसमेत फँडानी गरेको थियो।



