चितवन खबर पोष्ट

ईको तथा कृषि पर्यटनमा योगदान पुर्‍याएको हिमालचुली नेचर फार्मस्टे सम्मानित

चितवन, ३१ श्रावण २०८३ — चितवन उद्योग संघ माडी इकाईको आठौँ वार्षिक साधारणसभाका अवसरमा माडी–६, स्याउलीबासस्थित हिमालचुली नेचर फार्मस्टे सम्मानित भएको छ ।

माडी क्षेत्रमा ठूलो लगानी भित्र्याएर ईको एवं कृषि पर्यटनको विकासमा महत्वपूर्ण योगदान गरेको कदर गर्दै साधारणसभाका अवसरमा सो फार्मस्टेलाई सम्मान गरिएको हो ।

साधारणसभामा माडी नगर प्रमुख ताराकुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरेलगायतले फार्मस्टेका अध्यक्ष रश्मि पण्डितलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

माडी क्षेत्रको कृषि, पर्यटन र संस्कृतिको समृद्धिलाई लक्ष्य राख्दै कृषिविद् रश्मि पण्डित र वातावरणविद् ध्रुव अधिकारीको अगुवाइमा करिब १० करोड रुपैयाँको लगानीमा फार्मस्टे निर्माण भएको हो ।

करिब डेढ बिगाहा क्षेत्रफलमा फैलिएको फार्मस्टेमा किचन गार्डेन, फलफूल बगैँचा, टनेल खेती, माछापालन, पशुपालन र हर्बल चिया उत्पादनजस्ता गतिविधि सञ्चालनमा छन् । फार्मस्टेमा हाल चारवटा भवनमा एकैपटक करिब ४२ जना पाहुना बस्न सक्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया