कृषि र कृषक पोष्ट

माडीमा ठूलो जलाशयमा माछापालन गर्ने सरोज कृषि फर्म सम्मानित

चितवन, ३१ श्रावण २०८३ — चितवन उद्योग संघ माडी इकाईको आठौँ वार्षिक साधारणसभाका अवसरमा माडी–६, कल्याणपुर (हरिनगर)स्थित सरोज कृषि फर्म सम्मानित भएको छ ।

एकै स्थानमा माडीकै ठूलो जलाशयमा माछापालन गरेको सरोज कृषि फर्मले माछासंगै कुखुरा, हाँस र बाख्रापालन समेत गर्दै आएको छ । व्यवसायिक रुपमा ठूलो लगानी गरी कृषि क्षेत्रमा विशिष्ट योगदान गरेको कदरस्वरूप साधारणसभाका अवसरमा सो फर्मलाई सम्मान गरिएको हो ।

साधारणसभामा माडी नगर प्रमुख ताराकुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरेलगायतले फर्मका सञ्चालक नगेन्द्र शाहलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

त्यसैगरी, जि.डी. क्रंकीट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई पनि साधारणसभामा सम्मान गरिएको थियो । कार्यक्रममा उद्योगी–व्यवसायीले माडीमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, सम्भावना र स्थानीय तहसँगको सहकार्यका विषयमा छलफल गरेका थिए ।

चितवन उद्योग संघ माडी इकाईका अध्यक्ष जिताराम महतोको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले इकाईको आगामी कार्ययोजना तथा उद्योगी–व्यवसायीको हितका विषयमा समेत छलफल गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया