चितवन खबर पोष्ट

बहुमत नजुटेपछि बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा घोषणा गरे

चितवन, १ भाद्र २०८३ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्।

राजीनामा दिनुअघि उनले आफ्नो एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख कामहरूको २८ बुँदे प्रगति विवरण प्रदेशसभामा प्रस्तुत गरेका थिए। नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो।

विश्वासको मत लिन तयारी गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेपछि बानियाँले बहुमत जुटाउन सकेनन्। बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अन्ततः बानियाँले प्रदेशसभा बैठकबाटै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया