चितवन खबर पोष्ट

प्रयोगविहीन होमस्टे भवन झाडी र फोहोरले ढाकिँदै

चितवन, २ भाद्र २०८३ — माडी नगरपालिका वडा नं. ५, छरछरेस्थित स्वीमिङ पुल र सभाहलसहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकिन थालेको छ ।

सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तरगत सशस्त्र प्रहरी बलको पोष्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसंगै जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको थियो । होमस्टेभित्र ५ वटा अतिथि आवासगृह, एकवटा सभाहल र एकवटा स्वीमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन् ।

तर, नियमित रेखदेख र संरक्षणको अभावमा भवनमा झाडी बढेको, अतिथि आवास भवनहरुको छानोमा रहेको खपडाहरु भत्किन लागेको, आवास भवनभित्रका शौचालय र टायल टुटफुट हुन थालेको र स्वीमिङ पुलमा फोहोर पानी भरिएको देख्न सकिन्छ ।

माडी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेटसमेत निर्माण थप गरिएको छ । तर, भवन संरचनालाई समयमै उपयोगमा ल्याउन नसकिँदा राज्यको ठूलो लगानी उपयोगहीन अवस्थामा रहेको छ ।

सो भवनलाई भाडामा सञ्चालनका लागि माडी नगरपालिकाले सूचना प्रकाशित गरेपनि त्यसतर्फ उल्लेख्य प्रगति हुन सकेको छैन । यसतर्फ सम्बन्धित निकायको तत्कालै ध्यान पुग्न आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया