चितवन, २ भाद्र २०८३ — बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने सहमति भएको छ। मंगलबार एमाले सचिव तथा प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहित प्रदेशसभा सदस्यहरूको छलफलले संसदीय दलको नेता जगन्नाथ थपलियालाई कायमै राख्दै थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।
एमाले र नेकपाबीचको सहमतिअनुसार बागमतीमा एमालेले सरकारको नेतृत्व गर्ने भए पनि बहुमतका लागि थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ। प्रदेशसभामा हाल १०४ सदस्य रहेकाले सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक छ।




