चितवन खबर पोष्ट

जनकल्याण मावि व्यवस्थापन समितिमा चार सदस्य मनोनित

चितवन, २ भाद्र २०८३ — जनकल्याण माध्यमिक विद्यालय, माडी–६, कल्याणपुरको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा ४ जनालाई मनोनित गरेको छ । भेलाबाट मनोनित हुनेहरुमा माडी–६ निवासी रुकमणी भुसाल, अञ्जना गौतम, निशा कार्की पण्डित र माडी–७ निवासी युवा पण्डित सुदर्शन सुवेदी रहनुभएको छ ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.का अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानुनी व्यवस्थामा भएका परिवर्तन (दशौं संशोधन) का कारण विद्यालयको वि.व्य.स. पुनः गठन गर्नुपर्ने अवस्था आएको हो । यसअघि, गत चैतमा र त्यसलगत्तै जेठ १० गते व्यवस्थापन समिति गठन भएकोमा ४ महिना पुरा नहुँदै नयाँ समिति गठन भएको हो ।

नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयमा समेत वि.व्य.स. पुनः गठन हुने अवस्था बनेको छ । नयाँ वि.व्य.स. गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको पाँच वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया