चितवन, ३ भाद्र २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र रास्वपा चितवन जिल्ला समितिको समन्वयमा माडी नगर RAT विभागको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीनवटा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै माडीका दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर माडीवासीले लामो समयदेखि भोग्दै आएका समस्या तत्काल समाधान गर्न माग गरेको हो।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी नगर RAT विभागले ‘सरसफाइबाट सुरुवात, संवादबाट समाधान’ भन्ने मूल नाराका साथ आयोजना गरेको बृहत् सरसफाइ, युवा संवाद तथा समस्या सङ्कलन कार्यक्रमबाट प्राप्त जनसमस्यालाई सम्बन्धित मन्त्रालयसम्म पुर्याउने उद्देश्यले टोली सिंहदरबार पुगेको थियो। टोलीमा माडी नगर RAT विभागका सचिव आर्यन थापा ‘पुकार’ र सदस्य मिलन न्यौपाने सहभागी थिए।

हनुमानझुलाको कानुनी समस्या समाधान गर्न माग
¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै टोलीले हनुमानझुला क्षेत्र राष्ट्रिय वनअन्तर्गत पर्ने भए पनि निकुञ्ज प्रशासनले समेत क्षेत्राधिकार दाबी गर्दा त्यहाँका नागरिक दशकौँदेखि जग्गाधनी प्रमाणपुर्जा, विद्युत् तथा आधारभूत विकासका सुविधाबाट वञ्चित हुनुपरेको विषय उठाएको थियो।
टोलीले वन ऐन र निकुञ्जसम्बन्धी ऐन तथा नियमबीच देखिएको कानुनी जटिलता समाधान गरी स्थानीय बासिन्दाको समस्या सम्बोधन गर्न माग गरेको थियो। मन्त्रालयले अन्तर-मन्त्रालय समन्वय गरी आवश्यक नीतिगत तथा कानुनी सहजीकरण अघि बढाउने जानकारी दिएको टोलीले जनाएको छ।
केही महिनाभित्रै लालपुर्जा वितरण गर्ने प्रतिबद्धता
¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समग्र माडीवासीका लागि जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया तीव्र पार्ने प्रतिबद्धता जनाएको छ।
मन्त्रालयले केही महिनाभित्रै लालपुर्जा वितरण गर्ने गरी काम अघि बढाउने तथा हनुमानझुलालगायतका बस्तीमा लामो समयदेखि रहेको कानुनी उल्झन समाधान गरी वास्तविक बासिन्दालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएको जनाइएको छ।
हनुमानझुलामा तत्काल विद्युत् विस्तारको प्राविधिक अध्ययन
¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लामो समयदेखि विद्युत् सुविधाबाट वञ्चित हनुमानझुला क्षेत्रमा तत्काल बत्ती बाल्न सकिने वा नसकिने विषयमा प्राविधिक अध्ययन गर्न मन्त्रालयबाटै टोली फिल्डमा पठाउने जानकारी दिएको छ।
ऊर्जा मन्त्रीले तत्काल विद्युत् विस्तार सम्भव भए दशैंअघि नै काम सुरु गर्ने र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था भए पनि त्यसलाई छिटो टुंग्याएर काम अघि बढाउने प्रतिबद्धता जनाएको टोलीले जनाएको छ। साथै, समग्र माडी क्षेत्रमा नयाँ विद्युत् प्रसारण लाइन विस्तारका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
दशैंअघि सडक निर्माणको टेन्डर प्रक्रिया अघि बढाइने
¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯¯
निकुञ्ज क्षेत्रभित्र पर्ने सडक निर्माणको प्रक्रिया पनि दशैंअघि नै टेन्डरमा लैजाने र चाडपर्वलगत्तै फिल्डमा काम सुरु गर्ने योजना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्थानीय युवाहरूले सङ्कलन गरेका जनसमस्यालाई सम्बन्धित तीनवटै मन्त्रालयसम्म पुर्याउने पहल र मन्त्रालयबाट प्राप्त ठोस जानकारी तथा प्रतिबद्धताले माडीवासीमा आफ्ना दीर्घकालीन समस्या समाधान हुनेप्रति आशा र भरोसा बढाएको टोलीले जनाएको छ।



